एजेन्सी, ९ वैशाख । इजरायलमा एक वर्षदेखि जारी राजनीतिक संकटको अन्त्य भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र राजनीतिक प्रतिद्वन्द्धी बेन्नी गान्जले आपतकालीन एकताको सरकार गठन गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि एक वर्षदेखि जारी राजनीतिक संकटको अन्त्य भएको हो ।
एक बर्षमा तीन पटक निर्वाचन हुँदा पनि कुनै पनि दलले सरकार बनाउन आवश्यक बहुमत नल्याएका कारण उत्पन्न राजनीतिक संकट अन्त्यका लागि दुवै नेता एकताको सरकार गठन गर्न सहमत भएका हुन् । उनीहरूले पालैपालो सरकारका नेतृत्व गर्ने सम्झौता गरेका छन् ।
सम्झौता अनुसार पहिलो १८ महिना नेतान्याहू प्रधानमन्त्री हुनुहुने छ । त्यसपछि नेतान्याहुले गान्जलाई सो पद हस्तान्तरण गर्ने बताइएको छ । सम्झौतामा नेतान्याहूको दक्षिणपन्थी लिकुड पार्टी र गान्जको ब्लू एण्ड व्हाइट पार्टीले गठबन्धन सरकार बनाउने उल्लेख छ ।
जारी कोरोना विरुद्धको लडाईंमा चौथो निर्वाचन नगइ संयूक्त सरकार बनाएर अघि बढ्न दुवै नेता सहमत भएका हुन् । इजरायली स्वास्थ्य मन्त्रालय अनुसार इजरायलमा अहिलेसम्म १३ हजार ७ जना कोरोना संक्रमित भेटिएका छन् भने १ सय ७७ जनाले ज्यान गुमाएका छन् ।