काठमाडौं, ७ वैशाख । लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्टलाई आइतवार नेपाल ल्याइएको छ । लकडाउनका कारण भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य भएका दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका उनलाई जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा नेपाल ल्याइएको हो ।
रोजगारीका लागि भारत गएका भट्ट लकडाउनका कारण भारतको धार्चुलास्थित क्वारेन्टाइनमा आश्रय लिइरहेका थिए । त्यही बसिरहेका बेला केही दिनअघि उनको आमाको निधन भएपछि उनी त्यही काजकिरियामा बसेका थिए । भट्टलाई काजकिरियाका लागि नेपाल ल्याउनुपर्ने चौतर्फी दबाव परेको थियो । नेपाल ल्याएपछि उनको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
उनको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माविमा र्यापिड डाइग्नोस्टिक किटबाट कोरोना भाइरस भए / नभएको परीक्षण गरिएको थियो। त्यसको नतिजा नेगेटिभ आएपछि एम्बुलेन्समा उनलाई घर पठाइएको छ ।लकडाउनपछि दार्चुलापारि धार्चुलामा ५ सय ५० भन्दा बढी नेपाली रोकिएका छन् ।