काठमाडौं, ५ वैशाख । सांसदहरुले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले शुक्रबार उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेललाई भेटेर स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम स्थागित गरी कोरोना भाइरस नियन्त्रणका लागि खर्च गर्ने कुरा उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन । नेकपाका सांसद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रम सांसद विकास कार्यक्रम नभएकाले यसको रकम चलाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
सांसदहरुले राखेका मागहरुका विषयमा उपप्रधानमन्त्री पोखरेलले स्थानीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कानूनको रुपमा आइसकेकाले कसैले पनि हटाउन नसक्ने बताउनुभयो ।
यसैगरी नेकपाका सांसद गणेश सिंह ठगुन्नाले महाकाली पारी अलपत्र परेका नेपालीलाई स्देश ल्याउने व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले भारतको सीमानामा आएर बसेका नेपाली नागरिकलाई आफ्नै भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।




