काठमाडौं, ३ वैशाख । आज लकडाउनको २३ औ दिन पनि अन्य दिनजस्तै काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान छन् । सरकारले बैशाख १५ गतेसम्म देशैभर लकडाउन जारी राख्ने निर्णय गरेपछि बिगत दिन जस्तै आजपनि काठमाडौं उपत्यका सुनसान रहेका छन् ।
सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । त्यसलाई जारी राख्दै चौथो पटक मंगलवार लकडाउनलाई बैशाख १५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमित भेटिएपछि लकडाउमा थप कडाई गरिएको छ । बिभिन्न बहाना बनाएर लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले सर्वसाधारणलाई लकडाउनमा घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । अत्यावश्यक सवारी साधन भने निर्वाध संचालन भइरहेका छन् ।
यसैगरी काठमाडौं उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन् । राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।