काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीसँगको संवादमा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवैजना सहमत भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभएको हो ।
त्यस्तै लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिन पनि आफूहरुबीच सहमति भएको प्रधानमन्त्री ओलीको ट्वीटमा उल्लेख छ । त्यस्तै कोरोना संक्रमणको त्रासका बीच पनि आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज बनाउने विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
यसैबीच कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतले अघि सारेको योजनाअनुरुप स्थापना गरिने सार्क कोरोना आपत्कालीन राहत कोषमा पाकिस्तानले ३० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।