नेपाल पत्रकार महासंघले पत्रकारको सुरक्षा र राहतको प्याकेज तत्काल घोषणा गर्न सरकारसंग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारका लागि बीमा सुरक्षा र आवश्यक सामग्रीहरुको उपलब्धतासहितको राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिममा संकटपूर्ण अवस्थामा कार्यस्थलमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियतसहितको सुविधाको ग्यारेण्टी गर्न बिज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष आचार्यले पत्रकारहरुका लागि आवश्यक सामग्रीको उपलब्धताका साथै अप्ठ्यारामा परेकालाई आर्थिक राहत लगायतका विषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मबल बढाउने काम गर्न पनि आग्रह गर्नुभएको छ ।
बिज्ञप्तिमा सञ्चार प्रतिष्ठानलाई पनि प्याकेज बनाएर राहात दिन आग्रह गरिएको छ ।