स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय

swasthya-mantralaya

काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गर्नुभएको हो । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषध र औषधीजन्य सामान अभाव भएको भन्दै उहाँले अभावकाबीच किन्दा मुल्य केही बढी हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “संसारभरी अहिले सामान छैन । संसारभर सामान किन्न पाईदैन । संसारभरी किन्न नपाएको अवस्थामा केही मंहगो भएको हुनसक्छ । तर समयमा त्यो भएन भने त्यसबाट हुने प्रभाव असाध्यै धेरै हुने भएकाले हामीहरुले बुझ्नुपर्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मितव्ययीता र पारदर्शीतामा नितान्त सचेत छ । यसमा ध्यान दिन्छ र हाम्ले कति किन्छौ, के किन्छौ वेभसाईटमा राखेका छौ । त्यसकारणले जनतालाई गुमराहमा राख्नुपर्ने कुरा केही छैन । अभावको वीचमा किन्दा खेरी पहिला जति भाउ थियो त्यति मुल्यमा पाईदैन । ”

सामान खरिदका लागि टेण्डर आव्हान गर्दा पनि ल्याउन सक्ने अवस्था नभएको र लकडाउन पनि सुरु भईसकेकाले २४ घण्टाभित्र समय दिएर सबै सप्लायर्स बोलाएर छलफल गरेको तथा छलफलमा ५ -६ जनाले मात्रै छ भने पनि २ वटाको मात्रै प्रस्ताव परेपछि नेगोसियसनका आधारमा सरकारले सामान किनेको उहाँले स्पष्ट पार्नुभयो ।

अनुदानमा आएको सामानको मुल्य सूची उल्लेख गर्दे सो मुल्य भन्दा नेपाल सरकारले कम मुल्यमा किनेको पनि उहाँले दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारवाही गर्ने बताउनुभयो । देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह गर्नुभयो । आकस्मिक सेवा लिन आएका विरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दे उहाँले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन आग्रह गर्नुभयो ।

उहाँले बुटवलमा क्वारेन्टाईनमा बसेकाको मृत्यु भएको सम्बन्धमा नमुना परीक्षणकै क्रममा रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दुतावास, सिचुवान प्रान्त,अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले अहिले सम्म ९ सय १७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिनुभयो । पोजेटिभ आएका चौथो र पाचौ केसको ट्रेसिङ गर्ने काम भईरहेको तथा कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धि जटिलता नदेखिएको बताउनुभयो । उहाँले प्रतिघण्टा ३० वटाको दरले ११ १५ र ११ ३३ मा आएका कलहरुको सम्बोधन हुने गरेको बताउनुभयो ।

मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसमा सोधपुछ गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमुल्यांकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयोे । मन्त्रालयले संचार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र टे«ेसिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);