महोत्तरी, १३ चैत । कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो ।
जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै (१५वटै) स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।
यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिवास–१४ स्थित आपूmले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताउनुभएको छ । यसैगरी बर्दिवास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकताअनुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटलका प्रबन्धक दीपक कार्कीले बताउनुभयो ।
सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एकहप्ते ‘लकडाउन’ शुरु गरेसँगै बजार, यातायात बन्द गरिएका छन् । जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन् । जिल्ला प्रशासनले गत शुक्रबार कतार एयरवेजबाट मुलुक फर्केकामध्ये महोत्तरीका ११ मध्ये पाँच सम्पर्कमा आएका जनाएको छ । पाँचै जना परिवारसहित क्वारेन्टाइनमा रहेका छन् । अन्य छ जनाको खोजी भइरहेको छ ।
सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिवास–१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर (व्यापार प्रयोजनका कोठा) को भाडा यो असर रहुञ्जेल नलिने बताउनुभएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार, बन्द व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गर्नुभएको हो । तामाङले आफ्नो १७ सटरबाट मासिक पाँच लाख भाडा लिँदै आउनुभएको थियो । यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गर्नुभएको छ ।
रासस