झापाको भद्रपुरमा आपत्कालीन क्वारेन्टाइन धमाधम बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापाको भद्रपुरमा आपत्कालीन क्वारेन्टाइन धमाधम बनाइँदै

खगेन्द्र घिमिरे
झापा, ८ चेत । नेपालमा हालसम्म कोरोना संक्रमित बिरामी भेटिएको तथ्यांक छैन । संक्रमण नभेटिएपनि नेपाल कोरोनाको उच्च जोखिममा रहेको खबर सार्वजनिक भएपछि रोकथाम तथा नियन्त्रणका सरकारी प्रयास थालिएको छ । तीनै तहका सरकार सक्रिय रहेको बेला झापामा पनि उच्च सतर्कताको पूर्व तयारी थालिएको छ ।

झापाका सबै स्थानीय तह र स्थानीय प्रशासनले आइसोलेशन वार्ड, आपतकालीन अस्थायी क्वारेन्टाइन निर्माणसँगै सीमा क्षेत्रमा उच्च सतर्कता बढाएका छन् ।

जोखिमबाट बचाउन कोभिड–१९ विरुद्ध सचेतना अभियान शुरु भएको छ । १५ वटा स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन, मेची अञ्चल अस्पतालमा आइसोलेशन वार्ड र सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण गरिने भएको छ ।

भद्रपुर १० स्थित कलवलगुढी प्रशिक्षण केन्द्रको भवनमा आपत्कालीन क्वारेन्टाइन बनाउने काम धमाधम भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

संक्रमणको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न प्रशिक्षण केन्द्रमा ३२ बेड क्षमता भएको क्वारेन्टाइन बनाइँदैछ । भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा सम्बद्ध निकायहरुको प्रतिनिधित्व रहने गठित समिति क्वारेन्टाइन बनाउने काममा लागि परेका छन् ।

खानेपानी, बिजुली, घेरावारा, सरसफाइ, स्वास्थ्य सामग्री, र निर्माण सामग्रीको व्यवस्थापन कार्यमा समिति जुटेको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा पनि ८ बेडको आइसोलेशन बार्ड तयार भइसकेको छ ।

शंकास्पद बिरामी आएमा उपचारमा खटिने रेपिड रेस्पोन्ड टिम डाक्टर गोबिन्द कँडेलको नेतृत्वमा गठन गरिएको छ । अस्पतालमा आउने हरेक बिरामी वा आफन्तले हात धोएर, थर्मल गनले ज्वरो जाँच गर्ने व्यवस्था मिलाइसकेकोछ । अस्पतालमा आकस्मिक बाहेकका सबै शल्यक्रिया सेवा बन्द गरिएको छ । आवश्यक परेको बेला आइसियु पनि तयारी अवस्थामा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);