कपिलवस्तु, ७ चैत । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको अगुवाईमा तौलिहवा स्थित महेन्द्र आधारभूत प्रा.वि.मा कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि क्वारेन्टाईन स्थापना गरिएको छ ।
विशेष गरी भारतबाट सीमा नाका हुँदै नेपाल आउने सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाईन स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । क्वारेन्टाईन स्थापना गरिएको पहिलो दिन भारतको मुम्वईबाट आएका कपिलवस्तु नगरपालिका वडा नं. २ लम्तियाका २५ वर्षीय बृजमन धोवीलाई क्वारेन्टाईनमा राखिएको छ । धोवीलाई सामान्य रुपमा घांटी दुखेको र ज्वरो आएको थियो । भारतबाट नेपाल आउने शंकास्पद विरामीहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने बताईएको छ ।
स्वास्थ्यकर्मीको निगरानीमा २ हप्ता सम्म क्वारेन्टाईनमा राखेपछि सामान्य अवस्था देखिएमा मात्रै घर फर्काइने छ । भारतसंग सीमा जोडिएका नाकाहरु कृष्णनगर, मर्यादपुर, चाकरचौडामा नेपाल तर्फबाट सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्र मर्यादपुरमा थर्मोगनबाट ज्वरो चेकजांच, तथा अन्य निगरानी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।