काठमाडौं, ५ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने बताउनुभएको छ ।
बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।
मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन् । राज्यले अभाव हुन दिन्न् । विभागिय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ ।’ मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गर्नुभएको छ ।
कन्ज्युमर आइका महासचिव राजन खनालले खानेपानी संस्थानले दिने खानेपानीले हात धुँदा रोग सर्दैन भन्ने ग्यारेण्टी गर्नुपर्ने बताउनुभयो । ‘हाम्रो धारामा आएको खानेपानीले हात धुँदा हामी सुरक्षित हुन्छौँ भन्ने ग्यारेण्टी कसैले गर्न सक्छ ?’, उहाँले प्रश्न गर्नुभयो । महासचिव खनालले पिक आवरमा सार्वजनिक यातायात बढेर यात्रा गर्न सरकारी अधिकारीहरुलाई चुनौती पनि दिनुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरु मारमा परेको बताएका थिए । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताउनुभयो । बजारमा भने कुनै पनि वस्तुको अभाव नभएको उहाँले बताउनुभयो ।
कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी प्रभाव नेपालमा पनि परेको छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तु समेत अभाव हुन थालेको उपभोक्ताहरुले गुनासो गरिरहेको छन् । मन्त्रालयले भने बजार अनुमगन र कारवाहीलाई प्राथमिकता दिएको बताउँदै आएको छ ।