नेपाल भारत सीमा विवाद सम्बन्धि वार्ता अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल भारत सीमा विवाद सम्बन्धि वार्ता अनिश्चित

flag of nepal and india

काठमाडौं, ३० फागुन । भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल भारत सीमा विवाद सम्बन्धि वार्ता अनिश्चित बनेको छ ।

नेपालले दुई पटक कुटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरेपनि भारतले परिस्थिति अनुकुल नभएको जवाफ पठाएको छ । परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत फेरिएपछि नेपालले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सचिव बैरागीले भारत वार्ताका लागि सकारात्मक भएपनि दुबै देशको अनुकुल समयको पर्खाइ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘परराष्ट्र सचिवस्तरिय वार्ताबाट समस्या समाधान गर्न नेपाल सरकारले २ पटक वार्ताका लागि मिति प्रस्ताव गर्दै कुटनीतिक पत्र पठाएको थियो । तर यो बीचमा भारतीय विदेशसचिवको परिवर्तन र नेपालका लागि भारतीय राजदूतको नयाँ नियुक्तिका कारण नेपालले भनेको मिति उनीहरुलाई अनुकुल नभएको बुझ्नमा आएको छ । फेरी अर्को बैठक कहिले गर्ने भन्ने कुरा टुंगो लागेको छैन्।’

सचिव बैरागीले यो वर्ष नेपाल भारत सीमामा १ सय ५५ सीमास्तम्भ निर्माण भएको बताउनुभयो । यस्तै १५ स्तम्भ मर्मत र ३९ ठाउँमा सर्भे भएको उहाँले बताउनुभयो । नेपाल भारत संयुक्त प्राधिक समितिले विभिन्न ४ टोली बनाएर सीमा निरीक्षण गरेर तथ्याङ्क समेत संकलन गरेको उहाँले बताउनुभयो ।

समिति बैठकमा सांसद भीम रावलले सरकारी अधिकारीहरुले नक्सा सार्वजनिक गर्ने सम्बन्धमा दिएको जवाफप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

सांसद पुष्प भुषालले सीमा विवाद सम्बन्धि समितिमा भएको छलफलमा मन्त्रि सहभागिता हुनुपर्ने उल्लेख गर्दै सर्वदलिय सहमति भएपनि कुटनीतिक नोट पठाउने बाहेक अरु काम गर्न नसकेको बताउनुभयो । भारतसँग मात्रै सीमा समस्या नरहेको र चीन तथा भारत दुबै देशसँग सरकारले कुटनैतिक वार्ता गरी समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा समिति सभापति पवित्रा निरौला खरेलले राजनीतिक दलहरु देखि लिएर सबै नेपालीको साथ र समर्थन पाएको अवस्थामा सरकारले समस्या सामाधानका लागि तिव्र कदम चाल्नुपर्ने बताउनुभयो ।

सरकारले समस्या समाधानका लागि थुप्रै प्रयास गरेको भएपनि गर्न सक्ने जति नगरेको उहाँको भनाई थियो । गत नोभेम्बर २ मा भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेपछि यसको विरोध हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);