देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८१, सोमबार

देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न सांसदको माग

काठमाडौं, २९ फागुन । राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहीबारको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी उनीहरुले भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे ।

राष्ट्रियसभाको बिहिवार बसेको बैठकको बिशेष समयमा सांसद रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले संसदमा विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्ने सम्म मन्त्रीहरुलाई जानकारी नहुने गरेको भन्दै संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद बेदुराम भुसालले हरेक क्षेत्रमा भ्रष्टाचार फैलिएको भन्दै त्यसको न्यूनीकरणका लागि थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवेन्द्र दाहालले विकास निर्माणको क्रममा अलपत्र परेका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद भगवती न्यौपानेले राष्ट्रियसभाको बैठकमा जनताको सवालमा गरिने बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

त्यसैगरी सांसद शेखर कुमार सिंहले सप्तरीमा जंगली हात्ती र अर्नाबाट किसान आतंकित भएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);