काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खानुभएको छ । बुधबार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा बोल्दै अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खानुभएको हो ।
‘कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईहरुलाई विश्वास लाग्ने यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन्’, गीता हातमा राख्दै थापाले भन्नुभयो । अध्यक्ष थापाले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने र नअलग्गीने संकल्प लिएर एक भएको बताउनुभयो । विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले बताउनुभयो ।
उहाँले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको दुुविधा र आशंकालाई हटाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘पार्टी एकता हुन पाएको छैन फेरी फुट्छ की भन्ने चिन्ताबाट मुक्त हुनुहोस् । यसले हामीलाई सिथिल बनाउँछ । अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडी बढ्नुपर्छ । स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुप¥यो, नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।’
अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताउनुभएको छ । ‘विगतमा पार्टी अध्यक्षको हैसियतमा एक्लैले बोक्नुपरेको भार अहिले साथीहरुसँग सेयर गर्ने अवशर मिलेको छ’, थापाले भन्नुभयो ।
अध्यक्ष थापाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको बताउनुभएको छ । पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो एकता कसैको दबाव र प्रभावमा परेको होइन । कुनै स्वदेशी विदेशी शक्तिको दबाव र प्रभावमा एकता भएको होइन् । पार्टीलाई माया गर्ने कार्यकर्ता सहयोगि शुभचिन्तकहरुको दबाव र प्रेरणाको प्रभाव । देशको वर्तमान अवस्थाले एकताको विन्दुमा पुग्नका लागि प्रेरित गरेको छ ।’
पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उहाँले बताउनुभयो । देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उहाँले बताउनुभयो ।
थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताउनुभयो । अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको बिचार र मार्गचित्र त्रुटिपूर्ण रहेको बताउनुभएको छ ।
नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप उहाँले लगाउनुभयो । अध्यक्ष थापाले भ्रष्टाचारका कारण देशको अवस्था कहालीलाग्दो रहेको बताउनुभयो ।
उहाँले देश ब्रह्मलुटमा कांग्रेसको पनि भूमिका रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो ब्रह्मलुटको प्रमुख मतियारका रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ ।’ देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानूनको कट्घरामा उभ्याउने समेत बताउनुभएको छ ।