‘राप्रपा ब्रान्ड’ छाड्ने गरी कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘राप्रपा ब्रान्ड’ छाड्ने गरी कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ?

काठमाडौं । ‘राप्रपामा मेरो हैसियत र योगदानको कुनै सम्मान र सम्बोधन भएन्, त्यसैले स्थानीय तहको निर्वाचनको मिति घोषणा कुरिरहेको छु, सो मिति घोषणापछि आवाश्यक निर्णय लिनेछु,’ थापाले सोमबार मात्र आफूनिकट केन्द्रीय सदस्यहरूसमक्ष सो घोषणा गरेका थिए ।

ओम दुर्गा पार्टी प्यालेस, चाबहिलमा गत मंसिरको एकता महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै ६० जना निर्वाचित केन्द्रीय सदस्यसमक्ष सो धारणा राखेर थापा सोमबार नै गृहजिल्ला पुगेका थिए । जब उनी गृहजिल्ला, मकवानपुर पुगे, सरकारले पनि ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिदिए ।

हेटौडास्थित प्रकाश होटलमा बसेका थापासँग पारिवारिक सदस्य अर्थात् भाइ गणेश थापा, भतिजासमेत रहेका केन्द्रीय सदस्य अभिषेक थापा र राजाराम बर्तौलासहित मकवानपुर पार्टी जिल्ला अध्यक्ष गुरु सापकोटा र नगर उपाध्यक्ष प्रेमलाल श्रेष्ठसहितका नेताहरू उपस्थित रहेका थिए । 

सोमबारको प्रतिबद्धताअनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि थापाले निर्णय लिए- पार्टी परित्याग गर्ने । सोहीअनुसार विज्ञप्ति तयार भयो । जसमा उनले मुख्य जोड गरे- आफ्नो मागको सम्बोधन भएन । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ सुरुवात नै पार्टी परित्यागको घोषणाको वाक्यबाट वक्तव्य तयार पारेका थापाले त्यसपछि पार्टी परित्यागको कारण खोलेका छन् ।

‘पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरा बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ उनको प्रस्टोक्तिमा उल्लेख छ ।

गत १५-१८ मंसिरमा सम्पन्न भएको एकताको महाधिवेशनमा थापा प्रत्यासी राजेन्द्र लिङ्देनबाट पराजित भएका थिए । सो पराजयपछि थापाले सामाजिक सञ्जालमार्फत निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीमा आन्तरिक हस्तेक्षप गरेका कारण पराजय भोग्नु परेको आरोप लगाए । ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना,’ पराजित भएलगत्तै थापाले सार्वजनिकरूपमै पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोश पोखेका थिए ।

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजयलाई सहर्ष स्वीकार गर्दै थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाईसमेत दिएका थिए । ‘प्रतिकूल परिस्थितिमा हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभार’ व्यक्त गर्दै थापाले पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको सार्वजनिक गरिदिए । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मलनिवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्दछु, बधाई छ पूर्वराजा ज्ञानेन्द्र शाह, धन्यवाद, मैले राहत र उन्मुक्ति पाएको छु,’ उनले अगाडि आरोप लगाए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो अजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना ।’ 

संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र, संघीयतामा जनमतसंग्रहको माग राखेर निरन्तर आन्दोलनमा होमिएका थापाले पहिलोपटक पूर्वराजा शाहको सार्वजनिक रूपमा आलोचना गरेको घटनाको रूपमा दर्ज हुन पुग्यो । उनी शाहीकालमा पूर्व राजा नेतृत्वको सरकार गृहमन्त्रीसमेत हुन् ।

सो आक्रोश त्यतिकै थामिएन, उनले २७ मंसिरमा अध्यक्ष लिङ्देनलाई पत्र लेखेर पूर्वराजा शाह र निर्मल निवास सचिवालयबाट भएको हस्तक्षेपका बारेमा पार्टीमा छलफल चलाउनुपर्ने भन्दै तीन पेज लामो पत्र लेखे, तर लिङदेनले त्यसमा सुनवाईसमेत नगरेको थापाले गुनासो पोख्दै आएका थिए । तर, पुनः १६ माघमा आफ्नो मागमा सम्बोधन गर्नुपर्ने भन्दै अर्को स्मरण पत्र पठाए पनि लिङ्देनले कार्यसमिति बैठकमा छलफल गराउन नसकिने जवाफ दिएपछि थापा थप आक्रोशित मात्रै होइन, पार्टीभित्र आफनो अपमान भएको महसुस गरेका थिए ।

सो पत्रपछि थापाले गत शुक्रवार काठमाडौंमा आफू निकट नेताहरूसँग विशालनगर, काठमाडौंस्थित निवासमा छलफल गरेका थिए, सो छलफलमा सामूहिक निष्कर्ष निस्किएको थियो, ‘अध्यक्ष लिङ्देनले आफनो मागका बारेमा केन्द्रीय कार्यसमितिमा छलफल नचलाए विकल्प खोज्नुपर्छ ।’ त्यसको भोलिपल्ट लिङदेन थापालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए । शनिबार निवास पुगेका लिङ्देनलाई थापाले आफ्नो पूर्ववत् अडान कायम राखेका थिए, लिङ्देनले थापालाई चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

हुन त हिन्दुवादी नेता थापाले यसअघि पनि राप्रपा बिभाजन नगर्ने भनेर पाथीभरा मन्दिरमा गीता छोएर कसम खाएका थिए । तर, जब महाधिवेशनमा पराजित भए, थापा भड्किएको सामाजिक सञ्जालदेखि मिडियामा आएका प्रतिक्रिया र अन्तर्वार्ताहरूले संकेत भने गरिसकेका थिए । थापाले पार्टी विभाजन नगर्ने, तर अलग हुने भन्ने बिवाय भने सार्वजनिक रूपमै भनिसकेका थिए, ‘राजसंस्थाको एजेन्डा बोक्दा प्रतिगामी ‘सिना’े बोकेर हिँड्यो भनेर मलाई सत्तोसराप गर्नेहरू अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नु हुँदैन भन्दा मेरो खेदो खनिरहेका छनु, हाँसो लाग्छ । स्पष्ट होस्– विचार मिलेन भने पार्टीबाट म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन ।’

थापाले पार्टीबाट अलग हुन सक्ने संकेत गत पुस पहिलो साता नै गरिसकेका थिए, तर निर्णय लिएका भने थिएनन् ।

गत शनिबार थापा र अध्यक्ष लिङ्देनबीचमा भएको भेट सकारात्मक नभएपछि थापाले हिजो आफू निकट निर्वाचित पदाधिकारीसहित झन्डै पाँच दर्जन केन्द्रीय सदस्यसमक्ष आफनो माग सम्बोधन गर्न पार्टी अध्यक्ष अनिच्छुक रहेको भन्दै नयाँ निर्णयमा जानुपर्ने जनाएका थिए । नभन्दै थापाले त्यसको भोलिपल्ट गृहजिल्ला पुगेर पार्टी परित्यागको घोषणा गरिदिए । 

थापा निकटका अनुसार आजै काठमाडौं फर्केर नयाँ पार्टी निर्माणका लागि छलफल चलाउने छन्, तर उनको नयाँ पार्टीको नाममा राप्रपा भने रहने छैन । ‘राप्रपा नाम राख्यो भने पार्टी विभाजन गराएको सन्देश जान्छ, त्यसैले राप्रपा नाम नराखी नयाँ पार्टी दर्ता हुनेछ,’ उनी निकट केन्द्रीय सदस्यले भने । उनका अनुसार नयाँ नामका बारेमा काठमाडौं फर्केपछि निर्णय लिइनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);