काठमाडौं, २७ फागुन । नेपाल पत्रकार महासंघले कोरोना भाइरसबाट जोगिन सम्पूर्ण पत्रकारलाई पूर्वसतर्कता अपनाउन आह्वान गरेको छ । विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को उच्च जोखिममा नेपाल समेत रहेको विदितै छ ।
जनतालाई सुसूचित गर्ने संबैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ । पत्रकारलाई पूर्वसतर्कता अपनाउन महासंघले आग्रह गरेको ।
साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाइएको महासंघका महासचिव रमेश विष्टले बताउनुभयो ।
महासंघले सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरेको छ ।
साथै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघले विशेष आग्रह र अनुरोध गरेको छ ।
यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन (WHO) ले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको महासचिव विष्टले जानकारी दिनुभयो ।