काठमाडौं, २ असोज । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिएका हुन् ।
सोमबार साँझ निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी उनले विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आयोगले तोकेको समयमा नै मतदान सम्पन्न भएको बताए ।
७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
सोमबार प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको हो । निर्वाचन आयोगले निर्वाचनमा करिव ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
५ दिन भित्रमा मतगणना सम्पन्न
प्रमुख निर्वाचन आयुक्त यादवले आज राति बाटै मतगणना सुरु हुने जानकारी दिए । मतगणना स्थलमा मतपेटिका संकलन हुने वित्तिकै मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त यादवले बताए । उनले ५ दिन भित्रमा मतगणना सम्पन्न हुने गरी आवश्यक जनशक्तिको व्यवस्था मिलाइएको उल्लेख गरे ।
निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याएकोमा सरकार, राजनीतिक दल, आम मतदाता, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाजप्रति आभार पनि व्यक्त गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको सबै तहको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अव मुलुक समृद्धिको दिशामा अघि बढने विश्वास पनि व्यक्त गरे ।




