एजेन्सी, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि अहमदाबाद पुगेका छन् । सोमबार अहमदावाद पुगेका ट्रम्पलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।
ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

अहमदावाद विमानस्थलदेखि ‘नमस्ते ट्रम्प’ समारोह आयोजना हुने स्थान नवनिर्मित मोटेरा क्रिकेट रंगशालासम्म सडकको दुवै किनारमा भारतीय नागरिकहरु उभिएर स्वागत गरेका छन् ।
अहमदावादपछि ट्रम्प आगरास्थित ताजमहल पुग्नेछन् । त्यसपछि उनी भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली पर्कने र हैदरावाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डलबीच रक्षा र व्यापार लगायतका मुद्दामा व्यापक छलफल हुनेछ ।

मंगलबार नै राष्ट्रपति भवन परिसरमा ट्रम्प दम्पत्तिको स्वागत कार्यक्रम हुने छ । त्यहाँबाट महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न ट्रम्प राजघाट जाने छन् । मंगलबार नै ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ ।
समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर राति नै ट्रम्प स्वदेश फर्किने कार्यक्रम छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लाग्नुभएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुनुहुन्छ ।





