एजेन्सी, ९ फागुन । दक्षिण कोरियाले कोरोना भाइरससँग विरुद्धको लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ । दक्षिण कोरियामा शुक्रबारमात्र १ सय नयाँ संक्रमित भेटिएपछि राष्ट्रपति मुन जाइ इनले कोरोना भाइरससँगको लडाइँ गम्भीर मोडमा पुगेको बताए ।
त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
शुक्रबारसम्म दक्षिणकोरियमा २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको ज्यान गइसकेको छ ।
दक्षिण कोरियाली प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्ने भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए ।
राजधानी सिउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ । थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा संक्रमण देखिएकोछ । कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको बताइएको छ ।