एजेन्सी, ८ फागुन । कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ । पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय बीस पुगेको हो ।
चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार बुधबार मात्रै एक सय आठ जनाको मृत्यु भएको छ । चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यसैबीच कोरोनाको संक्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ । जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सातसय यात्रु मध्ये २१ जनामा कोरोनाको संक्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो ।
यसैबीच इरानको तेहरानमा पनि कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । तेहरानको दक्षिणी शहर कूममा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मध्यपूर्वको कोरोनाको प्रभाव पहिलो पटक देखिएको हो ।




