काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले केहीबेरपछि बस्न लागेको संसदको बैठकको शुरुमै सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसदलाई जानकारी गराउनुहुने बताइएको छ । भोली प्रधानमन्त्री ओलीको नेतृत्वमा नेकपाको सरकार बनेको २ वर्ष पूरा हुँदैछ । त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने पनि संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सम्बोधन पछि आजको बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’पनि पेस गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदसहितको प्रमाण दोस्रो संशोधन विधेयक २०७५’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नुहुने र त्यसलाई पारित गरियोस भन्ने प्रस्ताव पनि पेश गर्ने संसदको कार्यसूचि रहेको छ ।