काठमाडौं, २७ माघ । नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानूनी रुपमा सामना गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।
उहाँले बलुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाँया बनेको निष्कर्श कांग्रेसको रहेको समेत बताउनुभयो । उहाँले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रीपरिषद्बाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले कांग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताउनुभयो ।
उहाँले संसदका सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताउनुभयो । उहाँले संसदीय दलले आवश्यकता अनुसार मंगलबार निर्णय गर्ने समेत जानकारी दिनुभयो ।
त्यस्तै बैठकले फागुन तीन गते सरकार गठन भएको दुई वर्ष पुरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रष्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढंगले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताउनुभयो ।




