काठमाडौं, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक १ करोड विदेशी पर्यटक नेपाल ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताउनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले महत्वाकांक्षी योजनासहित पर्यटन पूर्वाधारमा काम गरिरहेको बताउनुभएको हो ।
५ वर्षभित्र निजगढ विमानस्थल संचालनमा
मन्त्री भट्टराईले अबको ५ वर्षभित्र निजगढ विमानस्थल संचालनमा आउने र ५ वर्षमा नागरिक उड्डयनमा ठूलो क्रान्ति गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
उहाँले वार्षिक १ करोड पर्यटक ल्याउने लक्ष्यसहित काम गरिररहेको र अबको पाँच वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ ठूलो लगानी गर्ने बताउनुभयो । मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकासका लागि जग्गा अधिग्रहणमा ५ अर्ब र पूर्वधार निर्माणमा २ खर्ब ५० अर्ब खर्च गर्ने योजना रहेको जानकारी दिनुभयो ।




