काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले देशको आर्थिक विकासको पहिलो आधार वित्तीय स्थायित्व भएको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको हो ।
साइबर सेक्युरिटी ठूलो चुनौती
गभर्नर नेपालले वित्तीय स्थायित्वपछि मात्रै अर्थतन्त्रका आधारशिला तयार हुने बताउनुभयो । उहाँले पछिल्लो समय वित्तीय क्षेत्रमा सबैभन्दा ठुलो चुनौतिको रुपमा साइबर सेक्युरिटी देखा परेको समेत बताउनुभयो । त्यस्तै देशको आर्थिक कृयाकलापलाई बढाउने चुनौति पनि वित्तीय क्षेत्रमाथि रहेको उहााले बताउनुभयो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले पछिल्लो समय केन्द्रीय बैंकले लिएका नीतिहरुले निजी क्षेत्रमाथि असर पारेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले नेपाल राष्ट्र बैंकले पछिल्लो समय आवधिक कर्जा, घर कर्जा तथा हायरपर्चेज कर्जामा कर चुक्ताको ५० प्रतिशत किस्ता तिर्नुपर्ने व्यवस्था गरेपछि समस्या देखा परेको बताउनुभयो ।
उहाँले ५० करोड रुपैयाँ माथिको कर्जामा क्रेडिट रेटिङ गर्ने व्यवस्थामा पनि सुधार गर्न सुुझाव दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंकहरुले जलस्रोत, कृषि र पूर्वाधार विकासमा गरेको लगानी न्यून भएको बताउनुभयो । कृषिमा लगानी बढाउन दवाव दिने गरी मौद्रिक नीतिको समिक्षा आउनुपर्ने उहाँको सुझाव थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा ल्याउनु अघि निजी क्षेत्रसँग मौद्रिक नीतिको कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक स्थितिका विषयमा छलफल गरेको हो ।