डडेल्धुरा, ८ माघ । डडेल्धुराको एक विद्यालयले विद्यालयमा नै माछा पालन र च्याउखेती गरेको छ । अजयमेरु गाउँपालिका–१ मा रहेको जिल्लाको पहिलो सामुदायीक विद्यालय बालकल्याण मावि पुईलेकले विद्यालयमै च्याउखेती, माछापालन तथा करेशाबारीहरु बनाएको छ । यसले विद्यार्थीहरुमा प्राविधिक ज्ञान तथा सीपको विकास त गरेको छ साथै विद्यालयका लागि आम्दानीको स्रोत पनि बनेको छ ।
२०७० सालबाट कृषि प्राविधिक धार अध्यापन गराउन सुरु गरेको डडेल्धुरा अजयमेरु गाउँपालिकको बालकल्याण माध्यमिक विद्यालयमा कृषि बिषय पढ्ने १ सय ५० जना बिद्यार्थी रहेका छन् ।
उनीहरुले प्रयोगको रुपमा विद्यालय हाता भित्र प्लास्टिक पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । गत बर्षदेखि नै सुरु गरेको च्याउखेतीबाट भएको आम्दानीले बिद्यालयले प्रयोगशालाका समाग्री र बिउ बिजन खरिदमै खर्च गर्ने गरेको छ ।
विद्यालयले कुनै पनि कक्षामा पनि शुल्क लगाएको छैन । कृषि व्यवसायबाटै भएका आम्दानीले विद्यालयको अन्य खर्चहरु धान्दै आएको छ । यसबाट विद्यालयले आर्थिक आम्दानी गरिरहेको छ भने विद्यार्थीहरुले प्रयोगात्मक शिक्षा पनि पाइरहेका छन् ।
विद्यार्थीहरुले बेमौसमी च्याउ उत्पादन गर्न सफल भएका छन् । यसले चिसो मौसममा पनि डडेल्धुरामा च्याउखेती गर्न सकिने सन्देश समेत दिएको छ ।
यसरी विद्यालयले कृषिको व्यवहारिक तथा प्रयोगात्मक शिक्षा दिँदा विद्यार्थीहरुमा कृषिप्रति झुकाव बढाउन सहयोग पुग्छ । विद्यार्थीले भविष्यमा कृषिलाई नै निरन्तरता दिएमा देशको उत्पादनमा पनि बृद्धि हुनेछ ।
नेपालमा शिक्षा पद्धति व्यवहारिक नभई बढी सैद्धान्तिक भएको भन्ने आलोचना भईरहेको बेला डडेल्धुरो बालकल्याण मावि नमुना विद्यालय बन्न सक्दछ ।