किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार

sahamati ukhu kisan

काठमाडौं, ८ माघ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ ।

मन्त्रालयले गत पुस १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, बाबा बैजुनाथ र श्रीराम सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले ती उद्योगका संचालकलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत बताउनुभयो । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी हुन नआएको उहाँले बताउनुभयो ।

उखु किसानसँग ती मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए। उक्त सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो। सरकार र उखु किसानबीच भएको सम्झौता सकिँदासम्म किसानले १६ प्रतिशत मात्रै भुक्तानी पाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो । तर अहिलेसम्म किसानले १६ करोड १४ लाख रुपैयाँ मात्रै पाएका छन् । किसानले आठ उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);