काठमाडौं, ८ माघ । पार्टीको आन्तरिक विवाद समाधानको खोजीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा पार्टीभित्रको आन्तरिक बिवादको हल खोज्ने प्रयास भएको कांग्रेस नेताहरुले बताएका छन् । देउवाले केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गर्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने, विभागको संख्या २८ बाट बाढाएर ४७ पुर्याउने र भ्रातृसंस्था तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट रहँदै आएको छ ।
संस्थापनले पार्टीमा चल्दै आएको सहमतीय परम्परा तोडेर पहिलो पटक बहुमतले महाधिवेशनको मिति तय गरेको आरोप पौडेल समूहको छ । पौडेल समूहले २६ मंसिर पछिका केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।
देउवा बहुमतबाट निर्णय गरेर अघि बढ्न खोजेपछि पौडेलले आफू निकटका जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएर पुस २१ गतेदेखि तीन दिनसम्म परामर्श गर्नुभएको थियो ।
जिल्ला सभापतिहरुको भेलाबाट महाधिवेशनको मिति सहमतिमा तोक्न देउवालाई लिखित सुझाव दिइएको थियो । छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सहभागीता रहेको थियो । महाधिवेशनको मिति यथावत राखी अन्य निर्णय सच्याउन आफू तयार भएको देउवाले पौडेललाई बताउँदै आउनुभएको छ ।