कचनकवल स्तम्भ जोड्ने रिङ रोडको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

कचनकवल स्तम्भ जोड्ने रिङ रोडको काम सुरु

kachankawal stamba road

झापा, ८ माघ ।  सडक सञ्जाल नभएका कारण ओझेलमा परेको झापास्थित नेपालकै होचो भु–भाग कचनकवल स्तम्भ पुग्ने चाराआली–केचना रिङ रोडको काम बल्ल सुरु भएको छ । आर्थिक बर्ष २०७३/७४ मा ठेक्का लागेको चाराआली–केचना रिङ रोडको बजेट संघीय वा प्रदेश सरकार कसले छुट्टाउने भन्ने बिषयमा बिवाद भएको थियो । अन्तत संघीय सरकारले सो सडक बनाउने बजेट विनियोजन गरेपछि रिङ रोडको काम शुरु भएको हो ।

झापाको कचनकवल गाउँपालिका–४ स्थित नेपालकै होचो भु–भाग कचनकवल स्तम्भसम्मको गन्तव्य पुग्ने कालोपत्रे सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटकले समस्या भोग्दै आएका थिए । आर्थिक बर्ष २०७३/०७४ मा सरकारले चाराआली–केचना रिङ रोडको ठेक्का लगाएको थियो । तर चार बर्ष पछि मात्र अहिले बल्ल सडक निर्माण कार्य शुरु भएको छ ।

केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडागीको चाराआली केचनक सडकसम्म जोड्ने रिङ रोडको काम धमाधम भइरहेको छ । सडक निर्माण कार्य सम्पन्न भएपछि कचनकवल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङदेनको भनाई छ ।

१६ करोड ३६ लाख ५० हजार ७ सय ५५ रुपैयाँ लागत रकम रहेको सो रिङ रोड निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी १२ करोड १२ लाख ९४ हजार २सय ८१ रुपैयाँमा ठेक्का लिएको हो । ८ दशमलव २ किलोमिटरको रिङ रोड बनाउने काम संघीय कि प्रदेश सरकारले गर्ने दोधारमा रहेकोले यसको बजेट सुनिश्चिता हुन नसक्दा लामो समयसम्म निर्माण कार्य रोकिएको थियो ।

सडक पर्नेमा ह्युमपाईप तथा स्ल्याब कल्भर्टमध्ये केही निर्माण भइसकेको छ, भने केही बनाउन बाँकी छ । कचनकवल स्तम्भ जोड्ने रिङ रोडको काम सुरु भएसँगै गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीय हर्षित देखिएका छन् ।