काठमाडौं, ६ माघ । नेकपा सचिवालय बैठकले आइतबार सभामुख पदको उम्मेदवार टुंगो लगाएपछि बैठक दिउँसो १ बजे बस्न लागेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएका प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो । आजको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ ।
आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।
नेकपाले सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने सम्भावना छ । नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह समेत गरेको छ ।




