सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान तीब्र | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान तीब्र

बाजुरा, ३ माघ । गृह मन्त्रालयको निर्देशनपछि सुदूरपश्चिममा छाउगोठहरू भत्काउने अभियान धमाधम सञ्चालन भइरहेको छ । अभियान सञ्चालन भएकामध्येको एउटा जिल्ला बाजुरामा छाउगोठ भत्काइ तीब्र रूपमा हुँदैछ । जिल्ला प्रहरी कार्यालय बाजुरा, स्थानीय जनप्रतिनिधि र स्वयं महिलाहरूको सक्रियतामा छाउगोठ भत्काउने अभियानले तीब्रता पाएको हो ।

पछिल्लो समयमा मुलुकभर रहेका छाउगोठहरूलाई धमाधम भत्काउन थालिएको छ । छाउ अर्थात् रजस्वला भएको बेला छाउगोठमा बस्नु पर्ने अन्धविश्वासका कारण कतिपय महिला तथा बालबालिकाहरू घाइते त कतिपयले मृत्युवरण पनि गर्नु परेकाले सरकारले नै छाउगोठ भत्काउन निर्देशन दिएको हो ।

निर्देशनपछि सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियानले तीब्रता पाएको छ । अभियानअन्तर्गत बाजुरामा अहिलेसम्म ५५ ओटा छाउगोठ भत्काइसकेको प्रहरीले जनाएको छ ।

कुप्रथाको रूपमा रहेको छाउपडी न्यूनीकरण गर्नका लागि जिल्लाभर नै छाउगोठ भत्काउने अभियान जारी रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।

बाजुराको बडिमालिका नगरपालिका – ७ का प्रत्येक स्थानीयहरूको घरमा रहेका छाउगोठलाई महिलाहरूकै सहमतिमा भत्काउन सफल भएको बडिमालिका –७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो ।

बडिमालिका –७ लाई छाउगोठ मुक्त वडा बनाउन गाउँमा बनाइएका सबै छाउगोठलाई महिलाहरूले नै भत्काउने र रुदीवादी परम्परालाई त्याग्ने प्रतिवद्धता सहित गाउँका सबै महिलाहरु पनि यस अभियानमा जुटेका छन् ।

छाउ भएको समयमा परिवारका सदस्यसंगै बसेर लापर्बाही गरेमा देबी देउता रीसाउने र समाजले देबी देउताको विश्वास धेरै मान्ने भएकाले यहाँका महिलाहरुले छाउ गोठमा बस्नु पर्ने बाध्यता रहँदै आएको थियो ।

बडीमालिका नगरपालिका भित्रका ४ वटा वडाहरु छाउगोठ मुक्त वडा घोषणा भईसकेका छन् भने बडीमालिका नगरपालिका भित्रका सवै महिलाहरुलाई छाउहुँदा व्यवस्थित तरिकाले बसाउनका लागि बडीमालिका नगरपालिका लागि परेको बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको भनाई छ ।

यसरी शताब्दीयौँ देखि जरा गाडेर बसेको अन्धविश्वासलाई हटाएर छाउगोठहरु भत्काउनुलाई सराहनीय मान्न सकिन्छ । तर यसरी छाउगोठ भत्काउँदै अन्धविश्वास सकिएको कदापि मान्न सकिन्न । त्यसका लागि छाउगोठ मात्र नभई छाउ भएको बेला परिवारसंगै बस्न नहुने भन्ने मनको गोठ नै भत्काउन आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);