सुत्केरी बस्ने बैकल्पिक छाउगोठ बनाउँदै गाउँले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुत्केरी बस्ने बैकल्पिक छाउगोठ बनाउँदै गाउँले

sutkeri chaugooth

ललित सिंह
बझाङ, १८ माघ । बझाङ खप्तडछान्ना गाउँपालिका–७ गडराय गोर्खाली गाउँका बंश खड्काकी बुहारी २ साता पछि सुत्केरी हुँदैछिन् । गाउँमा महिलाहरु सुत्केरी हुँदा र महिनाबारी हुदाँ बस्न बनाएका छाउँगोठहरु प्रहरीले भत्काएपछि खड्कालाई बुहारी सुत्केरी हुँदा कहाँ राख्ने भन्ने चिन्ता छ । गाउँमा भएका छाउगोठ भत्काए पछि बुहारीलाई सुत्केरी हुन घरभित्र राख्न खड्काको मनले मानेको छैन । देबिदेवता रिसाउने डर भएकाले सुत्केरी हुने बुहारीलाई घर भित्र राख्ने आँट उनमा छैन् ।

खड्काले सुत्केरी हुने बुहारीका लागि नयाँ छाउगोठको चाँजोपाँजो गरिरहेका छन् । घर भन्दा अलि टाढा रहेको छाउगोठ केही दिन अगाडी प्रहरीले भत्काईदिएपछि अहिले सुत्केरी हुने बुहारीका लागि बंश खड्का आफ्नो घर छेउ काठको फल्याक मिलाएर सानो खोका बनाउन थालेका छन् ।

बुहारी सुत्केरी हुन अब केही दिन बाँकी छ । नयाँ छाउगोठ निमार्ण गरिरहेका बंश खड्का भन्छन् सुत्केरी हुने बुहारीलाई घर भित्र बसाउन देवीदेवताको डर छ त्यसैले नयाँ बस्ने ब्यवस्था गर्दै छु । यस गाउँमा महिलाहरु सुत्केरी हुँदा छाउगोठमा नै १९ दिनसम्म बस्ने गर्दछन् । यस्ता गोठमा सुत्केरी र महिनावारी भएका महिलाहरु बस्ने गर्दछन् ।

घर बाहिर छाउगोठमा बस्ने सुत्केरी महिलाहरु बिसौँ दिनको दिन नुहाईधुवाई गरी गाईको गौत खाई, घर भित्र जाने गर्दछन् । साथै लुगाकपडा, आफ्नो शरिर र नवजात शिशुको शरिरमा पनि गहुँत छर्केपछि सुत्केरी महिला शुद्धभएको मानेर घरभित्र बसाल्ने प्रचलन रहेको छ ।

गोर्खाली गाउँका बृद्ध गोरख बहादुर सिंह भन्छन् गाउँघर कुनाकन्धरामा हामी देवीदेवताकै आशभरोसाले बसेका छौँ तर सरकार आएर छाउगोठ भत्काएर गयो, हामीलाई दोधार भईरहेको छ । उनले प्रहरी आएर धमाधम छाउगोठहरु भत्काएर गएको र अब सुत्केरी हुँदा र महिनाबारी हुँदा महिलाहरु कता बस्ने भन्ने गाउँलेहरुलाई चिन्ता लागेको बताए ।

प्रहरीहरुले यस गाउँमा १५ वटा छाउगोठहरु भत्काएका थिए । छाउगोठ भत्काए पनि गाउँलेहरुले सुत्केरी हुने महिलाहरु र महिनाबारी हुने महिलाहरुका लागि आफ्नै घर नजिकै भए पनि बैकल्पीक छाउँगोठहरु निमार्ण गरिरहेका छन् ।

खप्तडछान्ना गाउँपालिका–७ का वडाध्यक्ष राम बहादुर सिंहका अनुसार प्रहरी प्रशासन सहित जनप्रतिनिधिहरु मिलेर छाउगोठहरु त धेरै भत्कायौँ तर गाउँलेहरु देबीदेवताको डरले घर भित्र बस्न सक्दैनौँ भन्ने गर्छन ।

नेपाल सरकार गृहमन्त्रालयवाट परिपत्र आएपछि जिल्लाको प्रहरी प्रशाशनले छाउगोठ भत्काउने अभियान एक महिना अगाडीनै चलाएको थियो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार जिल्ला भरी ९९ भन्दा बढी छाउगोठ भत्काइएका छन् ।

प्रहरी प्रशाशनले छाउगोठ भत्काउने अभियान चलाए पनि गाउँघरका मानिसहरु भने तत्काल छाउँपडी त्याग्न सक्ने मनस्थितिमा छैनन् । छाउगोठ भत्काउँदैमा गाउँलेको मनमा भएका अन्धविश्वास हटाउन सकिन्छ भन्ने सोचका साथ चलाइएको छाउगोठ भत्काउने अभियान बालुवामा पानी हाले सरह भएको छ । छाउप्रथाको अन्त्यका लागि जनचेतनाका साथै गाउँलेहरुको आर्थिक अवस्थामा सुधार ल्याउने पहलहरु हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);