जनयुद्धको क्रममा मारिएका १७ हजार मध्ये ५ हजारको मात्रै जिम्मा लिन्छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

जनयुद्धको क्रममा मारिएका १७ हजार मध्ये ५ हजारको मात्रै जिम्मा लिन्छु : प्रचण्ड

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफुले जिम्मा लिने बताउनुभएको छ । माघीको अवसरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भन्ने गरेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ति राजाहरुले मारेको बताउनुभयो ।

दाहाले भन्नुभयो ‘धेरै साथीहरुले बाहिर पनि भन्ने गर्नुहुन्छ म तथ्याङ्क मात्रै सच्याउन चाहान्छु । तथ्याङ के भने मलाई भन्ने गरिन्छ । मैले १७ हजार मारेर आएको भनेर । साथीहरु आदरणिय जनसमुदायहरु यो सत्य होइन् ।’

उहाँले अगाडी भन्नुभयो ‘सत्य के हो भने, सत्य के हो मलाई भन्न दिनुहोस्, सत्य म भन्छु, सत्य के हो भने हिजोको सामन्ति राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।’

तर राजाहरुले मारेको १२ हजारको चाँही कुरा नहुने ? हिजो राज्यले मारेका १७ हजार मध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन् ।

दाहालले भन्नुभयो, ‘मैले सधै भन्ने गरेको छु युद्धको जिम्मा म लिन्छु । त्यहाँ भएका राम्रा नराम्रा कामहरुको म जिम्मेवार छु । त्य त्यसबाट कहिँ कतै भाग्ने कुरा हुनै सक्दैन तर नगरेको कामको पनि दोष मैलाई थुपार्नु भएन ।’

सांसद रेशम चौधरी छिट्टै जेलमुक्त

अध्यक्ष दाहालले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिनुभएको छ । सम्बोधनका क्रममा दाहालले रेशम मात्रै नभएर जनयुद्धका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘टीकापुर घटनाको सन्दर्भमा साथीहरुले भन्नुभयो झुटा मुद्धा खारेज गर्नुपर्छ भनेर पटक पटक पार्टी र सरकारसँग बहस भइरहेको छ । केही साथीहरु छुटेका छन् । रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समयभित्रै यसको परिणाम निस्किन्छ । यो कुरा तपाईहरुलाई भन्न चाहान्छु । ’’

उहाँले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्री समेत जेल रहेको बताउनुभएको छ । दाहालले मोरङबाट सेनाभित्र विद्रोह गरेर तत्कालिन जनमुक्ति सेनामा गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताउनुभयो ।

रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति

अध्यक्ष दाहालले प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफु भएको पनि बताउनुभएको छ । दिल्लीमा रेशम चौधरीसँग खुलेर तपाईका मागहरु के हुन राख्नुहोस् भनेर कुरा गर्ने आफु नै पहिलो व्यक्ति भएको उल्लेख गर्दै दाहालले भन्नुभयो, ‘‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतको दिल्लीमा रेशमसँग खुलेयाम भेटेर के के हो तपाईको कुरा खुलेआम राख्नुहोस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने तपाईहरु नविर्सनुहोला ।’’

दाहालले चौधरीलाई सांसदको सपथ खुवाउनका लागि सभामुख देखि सरकारसम्मलाई आफुले कुरा राखेको पनि बताउनुभयो ।

रेशम चौधरीलाई खोरभित्र भेट्ने पनि मै हो

उहाँले भन्नुभयो, ‘‘नम्बर १ प्रधानमन्त्रीको हैसियतले भेटेको मैले हो । नम्बर २ तपाईले के विर्सिनु पाउनुहुन्न भने डिल्लीबजारको खोरमा गएर रेशम चौधरीलाई खोरभित्र भेट्ने पनि मै हो भन्ने कुरा पनि तपाईहरुले बुझ्नुपर्ने हुन्छ । सभामखु, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उसलाई माननियको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे म हो भन्ने पनि नविर्सिनुहोला ।’’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);