काठमाडाैं, २४ पुस । प्रदेश ३ को नामाकरणमा नेकपालाई सकस परेको छ । प्रदेश ३ को नामाकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरी छलफल चलिरहँदा सत्तारुढ दलकै सांसदहरुको फरक अभिव्यक्ति र असन्तुष्टि आएपछि नेकपालाई सकस परेको हो ।
अझ नेकपा सचिवालयले प्रदेशको नाम र राजधानी नै तोकेर त्यही अनुसार निर्णय गर्नु भनेर निर्देशन दिएपछि त अवस्था झनै फरक देखिएको छ । सांसदहरुले फ्लोर क्रस गर्ने डरमा नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्ने तयारी गरेको छ ।
प्रदेश ३ को प्रदेशसभामा नामाकरण र स्थायी राजधानीको बिषयमा छलफल जारी रहेको छ । बुधवार प्रदेश सभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन पेश गरेपछि त्यसमाथि औपचारिक छलफल शुरु भएको हो ।
प्रतिवेदनमा राजधानी र प्रदेशको नाम विभिन्न उल्लेख भए पनि छलफलमा मुख्य चर्चा हेटौंडा र काभ्रेले पाएको छ । हेटौंडा राजधानी बनाउने पक्षमा प्रदेश सरकार र सिंगो नेकपा देखिएको छ । तर नेकपा भित्रकै कतिपय सांसदहरुले हेटौंडाको विपक्षमा भनाई राखेका छन् ।
नेकपा सचिवालयले नै प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिंदा पनि नेकपाका प्रदेश सांसदहरु विभाजित देखिएपछि नेकपाले ह्वीप जारी गर्ने तयारी गरेको छ ।
प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेशको दुइ तिहाइ मत चाहिन्छ । अहिले प्रदेशमा नेकपाका ८०, कांग्रेसका २२, नेपाल मजदुर किसान २ र अन्य दलका ६ जना सदस्य गरी जम्म १ सय १० सदस्य रहेका छन् ।
तीन नं प्रदेशमा दुइ तिहाइ बढि नेकपाको सदस्य संख्या छ । सबैको एकमत भए नेकपालाई प्रदेश र राजधानी तोक्न अन्य दलको समर्थन चाहिँदैन । तर आफ्नै दलभित्र एकमत नभएको कारण ह्वीप जारी गर्ने तयारी पार्टीको छ ।
प्रदेशको अधिकार खोसेर सचिवालयले निर्णय गरी प्रदेशसभा सदस्यहरुलाई बाध्यात्मक अवस्था सृजना गर्न खोजिएको प्रती नेकपाका नेताहरु पनि सन्तुष्ट देखीदैनन् ।
प्रदेश सरकार गठन भएको दुइ बर्ष बितिसकेको छ । तर पनि प्रदेश नं १, २, ३ र ५ ले हालसम्म स्थायी राजधानी र नाम तोक्न सकेका छैनन् । प्रदेश २ मा बाहेक सवै प्रदेशमा नेकपाको बहुमतको सरकार छ ।
तर नेकपाका प्रदेशसभा सदस्यहरुबिच स्थायी राजधानी र नामका बारेमा सहमती जुट्न नसक्दा ३ नं प्रदेशमा ह्वीप जारी गर्नु पर्ने स्थिति देखिएको छ । प्रदेश ३ को अवस्थालाई हेरेर अन्य प्रदेश अघि बढ्ने मनस्थितिमा देखिएका छन् ।