झापा, २२ पुस । विराटनगरमा १० रुपैँयामा पेटभरि खाना खान पाइने समाचार धेरै सञ्चार माध्यमहरुमा छाइ रहेका बेला झापामा पनि १० रुपौयाँमा खाना खुवाउन थालिएको छ । स्थानीय समाजसेवी दाजुभाईको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खानेहरुको भीड लाग्न थालेको हो ।
सेवा नै धर्म हो भन्ने सोचका साथ झापाका ३ दाजुभाईले केही दिन देखि विर्तामोड सहरको मुक्ति चोक नजिकै १० रुपैयाँमा पेटभर खाना खुवाउन थालेका छन् । ब्यापार ब्यवसाय गर्दै आएका विर्तामोड निवासी युवा मनोज विकास तथा अनिल अग्रवालले १० रुपैयाँमा ताजा स्तरीय खाना पकाउदै सेवा गर्दै आएको एक हप्ता भएको छ ।
कोही पनि दिन भर भोको बस्न नपरोस् भन्दै उनीहरुले समाज सेवा सुरु गरेका हुन् । दैनिक जसो उनीहरुले चलाएको यो भान्छा घरमा ५ सय जनाले खाना खादैं आएका छन् । विहान ९ बजे देखि १२ वजेसम्म यो सेवा चलाएर उनीहरु आफ्नो अन्य व्यवसायमा लाग्ने गर्दछन् ।
उनले चलाएको यो समाज सेवामा ५ जना अन्य कामदारले पनि काम पाएका छन् । हुन त यो समाज सेवाको कार्यलाई एक महिना सम्म मात्र निरन्तरता दिइने बताइए पनि लाभ लिने सर्वसाधारणहरुले भने लामो समय सम्म भएदेखि राम्रो हुने थियो भनेर अपेक्षा राखेको पाईन्छ ।
हरेक खाद्य पदार्थको बजार भाउ आकाशिएको बेला १० रुपैँयामा खाना खुवाउने प्रबन्धले पक्कै पनि विपन्न समुहलाई राहत दिएको छ । यसका साथै सम्पन्न समुदायले पनि खाना खान आउने र अतिरिक्त रकम सहयोग पेटिकामा राख्ने गरेको उनीहरु बताउँछन् । यसरी प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत राजधानी बाहिर पूर्वका धेरै स्थानहरुमा यो अभियान अहिले जारी अवस्थामा रहेको छ ।




