काठमाडौं, १८ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ सालको भुकम्पपछिको पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धी भएको दावी गर्दै आएको छ । प्राधिकरणले यसरी दावी गरिरहँदा राजधानी काठमाडौंमै नेपाल प्रहरीको बास अझै पाल मुनी नै छ । चार वर्षदेखि पाल मुनी बसी हावा, हुरी, र वर्षातको सामना गरिरहेका प्रहरी अहिले कठ्याग्रिने चिसोको सामना गरिरहेका छन् ।
नेपाली जनताको सुरक्षाका लागि दिनरात खटिने नेपाल प्रहरी आफै असुरक्षित पालमा बास बस्न बाध्य छन् । त्यो पनि दुर्गम पहाड र हिमाली जिल्लामा नभई अति सुगम मानिएको राजधानी काठमाडौंमै । २०७२ सालको भुकम्पले काठमाडौंको हनुमान ढोकास्थित प्रहरी भवन जिर्ण बनेपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पाल मुनी बस्दै आएको छ । यसरी टाँगिएका पाल मुनी बसेर प्रहरीको अपराध अनुसन्धान नियन्त्रणमा आफ्नो दैनिक काम गर्दै आएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा झन्डै २ सय प्रहरी कार्यरत छन् । अधिकांश प्रहरी यिनै पाल मुनी बस्दै आएका छन् । चैत बैशाखको हावाहुरी र पानीमा अनेक समस्या झेल्दै आएका प्रहरी अहिले कठ्याग्रिने चिसोको सामना गरिरहेका छन् । गर्मी, बर्षा या कठ्याग्रिंने जाडो प्रहरीहरु यीनै पालमा ओत लाग्न बाध्य छन् ।
ईमाउण्टेनटिभीसंग कुरा महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बसाइमा देखिएको कठिनाइका बावजुद अपराध अनुसन्धान र नागरिकको सुरक्षामा कुनै कमी हुन नदिएको बताउनु भयो ।
अपराध महाशाखाका प्रहरीहरु टेकुस्थित नेशनल ट्रेडिङको खाली जमिनमा बस्दै आएका हुन । प्रहरीले भवन निर्माणका लागि अहिले बसिरहेको जमिन नै ६८ लाखमा खरिद गरेको छ । तर भवन अझै बन्न सकेको छैन । भवन निर्माणका लागि टेन्डर प्रक्रिया शुरु भईसकेको अपराध महाशाखा प्रमुख थापाले जानकारी दिनुभयो ।