४४ औं मेलमिलाप दिवस मनाइरहँदा कांग्रेस भित्र पानी बाराबारकाे अवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

४४ औं मेलमिलाप दिवस मनाइरहँदा कांग्रेस भित्र पानी बाराबारकाे अवस्था

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले राष्टिय एकता तथा मेलमिलाप दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाएको छ । बाहिर ४४ औं मेलमिलाप दिवस मनाइरहेको नेपाली कांग्रेस पार्टी भित्र भने अहिले बेमेलको अवस्थामा छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षधर र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका बिच अहिले पानी बाराबारको अवस्था देखिन्छ । दुई समूहबीच समानान्तर बैठक गर्दै आएको कांग्रेसले वीपीको नाममा मेलमिलाप दिबस मनाउनुलाई कर्मकाण्डी र देखावटी भनी राजनीतिक वृत्तमा बिश्लेषण गरिएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला भारतको निर्वासन जीवन अन्त्य गरी २०३३ साल पूस १६ गते स्वदेश फर्किनु भएको सम्झनामा कांग्रेसले मिलमिलाप दिवस मनाउँदै आएको छ ।

विपीसँगै कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य लगाएतका नेताहरु स्वदेश फर्कनु भएको थियो । त्यसयता कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले बुधवार देशैभर बिभिन्न कार्यक्रम गरि ४४ औँ मेलमिलाप दिवस मनाएको छ । ४४ औ मेलमिलाप दिबस मनाउँदै गर्दा कांग्रेसका नेताहरु दुई समूहमा धु्रवीकरण भएका छन् ।

देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधर अहिले पानी बाराबारको अवस्थामा पुगेका छन् । एउटा पक्षले अर्काे पक्षलाई निषेध गर्ने गरी अघि बढेका छन् । महाधिवेशनको मिति र बागबण्डा नमिलेको भन्दै कांग्रेस भित्र नेताहरु बेमेलको अवस्थामा छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले माउन्टेन टिभिसँग कुराकानी गर्दै लोकतान्त्रीक पार्टीभित्र सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढ्दा यस्तो अवस्था आएको बताउनुभयो ।

सभापति देउवाले एकतर्फी ढंगले निर्णय गरेर अलोकतान्त्रिक चरित्र देखाएको संस्थापन इतर समुहले आरोप लगाउँदै आएका छन् । उनीहरुले निर्णय सच्याउन माग गरेका छन् ।

संस्थापन पक्षधरका नेताहरु भने सभापतिले बिधान सम्मत निर्णय गरेको दाबि गर्छन् । बिधान सम्मत निर्णयहरु गरेर पार्टीलाई बलियो बनाउनु पर्नेमा पार्टी भित्र नेतृत्व लिने होडबाजीमा ब्यक्ति केन्द्रीत प्रबृती हाबी भएको कारण हालको परिस्थीति श्रृजना भएको सहमहामन्त्री डा.प्रकाशसरण महतको भनाइ छ ।

संस्थापन नेता बिपि कोइरालाको मेलमिलाप नीति लिएर अघि बढेको कांग्रेसभित्र अहिले संथापन पक्ष र संस्थापन इतर समुह एक अर्कामा आरोप प्रत्यारोपमा अघि बढेका छन् । जसको कारण बिपि कोइरालाको मेलमिलाप दिबस नै कर्मकाण्डी थलो बन्न पुगेको राजनीतिक बिश्लेषक पुरञ्जन आचायको बुझाइ छ ।

बिपिको मेलमिलाप नीति कांग्रेस भित्र मात्र नभई सबै दलको लागि राष्ट्रिय राजनीति मै महत्व राख्दै आएको छ । सबै दलका नेताले यसलाई स्वीकार्दै विपीको त्यो नीतिको प्रशंसा पनि गर्दै आएका छन् ।

तर कांग्रेस अहिले घर भित्रैकै झगडा मिलाउन नसक्ने अवस्थामा पुगेको छ । यो स्थितिमा मेलमिलाप दिवस मनाउनुको सान्दर्भिकता के भन्ने प्रश्नले भागबण्डामा चुर्लुम डुबेको कांग्रेसका नेतालाई गिज्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);