व्यापारीले किसानलाई १ अर्व ३३ करोड भुक्तानी दिन बाँकी
काठमाडौं, १५ पुस । गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उखुको बक्यौता रकम माग गर्दै सर्लाही लगायत जिल्लाका किसानहरु काठमाडौ आएपछि मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले मंगलवार प्रहरीलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो ।
श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । ती सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । ती उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु किसानहरुले बताएका छन् ।