चिसापानी–गुटु–मंगलसेन द्रुतमार्ग : ४९ वर्ष बित्दा समेत ट्र्याक खुलेन | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

चिसापानी–गुटु–मंगलसेन द्रुतमार्ग : ४९ वर्ष बित्दा समेत ट्र्याक खुलेन

acham

सुर्खेत, ७ पुस । निर्माण शुरू भएको करीब आधा शताब्दी बितिसक्दा कैलालीको चिसापानी, सुर्खेतको गुटु हुँदै अछामको मंगलसेन जोड्ने द्रुतमार्गको ट्र्याक समेत खुल्न सकेको छैन । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलाघाटसम्म १० वर्षअघि नै सडक पुगिसकेको भए पनि गुटुसम्म करीब १५ किलोमिटर ट्र्याक अझै निर्माण भएको छैन ।

करीब ११० किलोमिटर दूरी रहेको उक्त सडकका लागि नियमित टुक्रे बजेट विनियोजन हुने गरेको छ । तर त्यसको सदुपयोग हुन सकेको छैन । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय, महेन्द्रनगर र सुर्खेतबाट छुट्ट्याइएको बजेट सही ठाउँमा खर्च नभएको टिप्पणी गरे ।

‘पहिलो काम गुटु–जंगलाघाट ट्र्याक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीतर्फ मात्र र सुर्खेतले अन्यत्र बजेट खर्च गर्दा निर्माण सम्पन्न हुन सकेन,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरूले समेत चासो नदिने र सुर्खेत–कैलाली तर्फकाले आफ्नै ठाउँमा बजेट खर्च गर्नाले सडकको कामले गति नलिएको हो ।’ यसमा राज्यले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ ।

सुर्खेतबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले उक्त सडकको निर्माण तीव्र पार्न संसद्मा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । आपूmले संघीय संसद्मा कुरा उठाए पनि प्रदेश सरकारले समेत यसलाई बजेटको प्राथमिकतामा राख्न आवश्यक रहेको उनले औंल्याए ।

उक्त सडकलाई नेपाल–भारत–तिब्बत (चीन) जोड्ने हालसम्मकै छोटो र सजिलो मार्गको रूपमा विकास गर्ने योजना छ । भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–घाटगाउँ–गुुटु–मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने लक्ष्य राखिए पनि सडक निर्माणले गति लिन सकेको छैन । यस क्षेत्रका बासिन्दाले करीब ५ दशकदेखि उक्त सडक निर्माणमा प्राथमिकता दिन माग गर्दै आएका छन् । तर राजनीतिक इच्छाशक्तिको अभावमा उक्त सडकको निर्माणमा ढिलासुस्ती भएको स्थानीयवासीले आरोप छ ।

चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम र बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटु हुँदै मंगलसेन जोड्ने ट्र्याक निर्माण गरिनुपर्ने बताए । ‘भारतलाई सडक सञ्जालबाट चीनसँग जोड्न यसबाट सबैभन्दा छोटो दूरी पर्छ,’ उनले भने, ‘मानसरोवरको यात्रामा जान छोटो पैदल मार्ग पनि यही हो ।’

अछामको मंगलसेन पुग्न पूर्व–पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर पर्छ भने सुर्खेतको चिसापानीबाट ११० किलोमिटर मात्र छ । यसको महŒव यस क्षेत्रका राजनीतिक दलका नेताहरूले नबुझेकाले निर्माणमा चासो नदिएको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयकले औंल्याए । ‘कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडकको निर्माण कर्णालीका बासिन्दाको भविष्यसँग जाडिएको छ,’ उनले भने, ‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महŒव बढी छ ।’ नेपालकै ठूलो क्षमताको गुटु–चौकुने सिमेन्ट उद्योगका लागि समेत उक्त सडकले ठूलो टेवा पुग्ने उनको बुझाइ छ ।

कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए सुर्खेतको पश्चिम क्षेत्रको विकासले फड्को मार्ने स्थानीय समाजसेवी देवबहादुर थापाले बताए । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यून बजेट विनियोजन गरेको छ । कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे ४०० मिटर लामो मोटरेबल पुल निर्माण प्रक्रियामा छ । त्रिदेशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुक्खा बन्दरगाह सञ्चालन गर्नुपर्ने माग राख्दै आए पनि काम अझै अघि बढ्न सकेको छैन ।

आर्थिक अभियानबाट