‘सडक दुर्घटनाको खबरले सुत्न सकिनँ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘सडक दुर्घटनाको खबरले सुत्न सकिनँ’

kp oli press

काठमाडौं, १ पुस ।  हरेक दिनजस्तो सडक दुर्घटना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना न्यूनीकरणका लागि चासो देखाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको छ।

दुर्घटनाका कारण मानवीय क्षति बढी हुन थालेको र सरकारले दुर्घटनाका बारेमा खासै चासो नदेखाएको भन्दै सर्वत्र चासो व्यक्त भइरहेका बेला प्रधानमन्त्री ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री र अन्य सरोकारवालालाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको छ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रूपमा निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भावुक रूपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले पछिल्लोपटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिनुभएको थियो।

उहाँले बैठकमा भन्नुभयो– ‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ।

हिजो खाना खान र सुत्न पनि सकिनँ।’ उहाँले यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको बताउँदै त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसाहरा बनाएको छ भनी यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउन मन्त्रीहरूलाई निर्देशन दिनुभयो।

प्रधानमन्त्री ओलीले निजी सवारीसाधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकलाई तालिम, लाइसेन्सको पुनःपरीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिनुभयो।

‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबल लेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस्।’

हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानविन गरी प्रतिवेदन तयार गर्न र सोहीअनुरूपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो। प्रधानमन्त्रीको निर्देशनअनुरूप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो।

नेपालमा पछिल्लो ५ महिनामा मुलुकभर भएका सडक दुर्घटनामा परी १ हजार ६० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन भने १ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। सो अवधिमा दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या ७ सयको हाराहारीमा रहेको छ भने मध्यमस्तरको घाइतेको संख्या १ हजारभन्दा बढी रहेको प्रहरीको तथ्यांकले देखाएको छ।

नेपाल समाचारबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);