गाउँमै थुनिए साइपालवासी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

गाउँमै थुनिए साइपालवासी

himpat

बझाङ १ पुस । बिहीबारदेखि आइतबार साँझसम्म परेको हिउँका कारण जिल्लाकै विकट साइपाल गाउँपालिकाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिउँ जमेर बाटाघाटा बन्द भएपछि यहाँका गाउँबीचको सम्पर्कसमेत विच्छेद भएको छ । एक–अर्को गाउँ जोड्ने नाका रहेको डाँडामा तीन फिटभन्दा बढी हिउँ जमेका कारण आवतजावत बन्द भएको हो ।

हिउँले ढाकिएको साइपाल गाउँपालिकाको धलौन गाउँ । तस्बिर सौजन्य : वसन्त बोहरा

साइपालको बढी जनसंख्या रहेको धलौन गाउँबाट गाउँपालिकाको केन्द्र काँडा जाने बाटोमा पर्ने रस्यालेकमा सबैभन्दा बढी हिउँ जमेको छ । यो बाटो भएर उत्तरतिरका काँडा, धुली, न्युना, बलौडी र काया गाउँका स्थानीयले बन्दोबस्ती तथा दैनिक उपभोग्य सामग्रीहरू लैजाने गर्छन् । धुली, बलौडी र न्युनाबाट काँडा आउने बाटोमा पर्ने रामखोला, काया, डाँडालगायत ठाउँमा पनि हिउँ जमेको छ । ‘हिउँले बाटो थुनेपछि किनमेल, स्वास्थ्योपचार तथा गाउँपालिकाबाट प्रवाह हुने दैनिक प्रशासनिक सेवा लिनका लागि गाउँपालिकाको केन्द्रमा आउजाउ गर्ने अवस्था छैन,’ न्युनाका उमेश बोहराले भने, ‘आइतबार रातिसम्मै हिउँ पर्‍यो ।’

चिसोका कारण स्थानीयमा रुघाखोकी, दम, निमोनियाजस्ता संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘बालबालिका र वृद्धवृद्धामा यस्तो संक्रमण बढी देखिएको छ,’ साइपाल गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लोकेन्द्र जेठाराले भने, ‘आवतजावतमा समस्या भए पनि स्थानीय स्वास्थ्य इकाईबाट सामान्य उपचारको व्यवस्था मिलाएका छौं ।’ सोमबारबाट पानी पर्न रोकिएकाले बुधबारसम्म हिउँ पग्लेर आवागमन सहज हुने उनको भनाइ छ ।

बाटाघाटा बन्द भएपछि पशुलाई आहारा खुवाउन सबैभन्दा समस्या भएको स्थानीयले बताएका छन् । ‘खान नपाएका कारण भेडाबाख्रा मर्न थालेका छन्,’ वसन्त बोहराले भने, ‘मान्छे नै मरे पनि उद्धार गर्न सकिने अवस्था छैन । हिउँका कारण निकै कष्ट भएको छ ।’ अहिले गाउँका युवाहरूको सक्रियतामा बाटो खुलाउने प्रयास भइरहेको उनले बताए । साइपाल गाउँपालिका जिल्लामै सबैभन्दा धेरै पशुपालन हुने क्षेत्र हो । भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका अनुसार यस गाउँपालिकामा मात्र २० हजारभन्दा बढी भेडाबाख्रा पालन गरिएको छ ।

राजमार्ग खुल्यो

हिमपातका कारण तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सोमबारबाट सञ्चालनमा आएको छ । यातायात चलेपछि हिउँमा फसेका र गाडीको प्रतीक्षामा रहेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

तीन दिन यातायात अवरुद्ध हुँदा यात्रुको चाप बढेको सुदूरपश्चिम यातायातका काउन्टर इन्चार्ज जीवन खड्काले बताए । चार दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आएको छ भने नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल र इन्टरनेट सेवा पनि खुलेका छन् । बन्द भएका रेडियोहरूले प्रसारण सुरु गरेका छन् । घाम लाग्न थालेपछि बन्द भएका विद्यालय तथा कार्यालय सञ्चालनमा आएका छन् ।
कान्तिपुरबाट