पर्सा, ३० मंसिर । पर्साको छिपहरमाई गाउँपालिकाका स्थानीय धेरैको किनमेल गर्ने थलो हो, भारतको बिहार । तर सहजताका लागि चालु गरिएको छोटी भन्सार संचालन नहुँदा भने सिमापारी किनमेल गर्न सकस छ । छोटी भन्सार संचालन नहुँदा सर्वसाधारण र ब्यापारीलाई दोहोरो खर्च गरी वीरगञ्जसम्म धाउनु पर्ने बाध्यता छ ।
पर्साको छिपहरमाई गाँउपालिकमा रहेको छोटी भन्सार कार्यालय प्रयोगमा नआउँदा स्थानिय सर्वसाधारण र ब्यापारी वीरगञ्जसम्म धाउन बाध्य छन् । सरकारले पर्साको भिस्वामा छोटी भन्सारको रुपमा कार्यालय स्थापना गरेको भएतापनि एक दशकदेखि कार्यालय प्रयोगमा आएको छैन ।
भारतसंग व्यापारीक मात्र नभई पारिवारीक सम्वन्ध समेत भएका सिमाक्षेत्रका स्थानियलाई बिहारबाट सामान ल्याउन र भारतीय सवारी नेपाल भित्रीयाउन निकै कठिनाई भएको छ ।
सर्बसाधारण मात्र होइन छोटी भन्सार संचालन नहुँदा ब्यापारीलाई समेत मार परेको छ । भिस्वा नाकाबाट सामान ल्याउन नदिने र बैधानिक तरिकाबाट वीरगञ्ज हुँदै सामान ल्याउँदा पनि प्रहरीले बिना कारण दुःख दिने गरेको व्यापारीहरुको आरोप छ ।
यता स्थानिय सरकार पनि बारम्बर माथिल्लो निकायमा ताकेता गर्दा समेत छोटी भन्सार प्रयोगमा नआएकोले सर्वसाधारणलाई सकस भईरहेको स्वीकार गर्छ । जनप्रतिनिधि निर्वाचित भएदेखि नै जनताको समस्या देखिरहेको र वीरगञ्ज नाका हुँदै सामान भिस्वा लैजान खर्चिलो भएको हुँदा छोटी भन्सार प्रयोगमा ल्याउन जरुरी रहेको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको भनाई छ ।
यता छोटी भन्सार प्रयोगमै रहेको तर कारोबार नभएको वीरगञ्ज भन्सार कार्यालयको भनाई छ । वीरगञ्ज भन्सार मातहत ११ बाट छोटी भन्सार चालु अवस्थामा रहेको भएतापनि केवल ५ वटाले नियमित रुपमा सेवा प्रदान गरिरहेका छन् । तर सेवाग्राहिको चाप निकै कम रहेको र राजश्व पनि कम उठ्दा छोटी भन्सार प्रयोग बिहिन बन्दै गएका हुन् ।