नेपालगन्ज, २९ भदौ । नेपालगन्ज–खजुरा सडकमा कालोपत्रे गरेको एक वर्ष नबित्दै भत्किएको छ । सडकमा पक्की गर्न बिछ्याइका फलामका रड निस्किएका छन् भने रडका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ ।
समय–समयमा बाटो मर्मत भए पनि पुरानै हालतमा पुग्ने गरेको छ । दीर्घकालीन समस्या समाधानका लागि सम्बन्धित निकायबाट खासै पहल नभएको स्थानीय बताउँछन् ।
चुनावको बेला सबै समाधान गर्छु भन्नेहरुले पनि चुनाव जितेर आएपछि बेवास्ता गरेको स्थानीयको आरोप छ ।
नेपालगन्ज उपमहानगरपालिकाले भने बजेट अभावमा सडकको सामान्य मर्मतमात्र गरिएको जनाएको छ । बजेट आएपछि डेढ महिनापछि सडक विभागले दीर्घकालीन रुपमा समाधान निकाल्ने उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
सडकमा निस्किएको रडले दुर्घटना नहोस् र यात्रुलाई क्षति नपुगोस् भन्नका लागि रड बङ्ग्याउने र कुच्याउने काम भइरहेको नेपालगन्ज महानगरपालिकाले जनाएको छ ।




