काठमाडौं, २३ मंसिर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि अहिलेसम्म छलफल नभएको सांसदहरुले बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुले ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि छलफल हुन नसकेको बताएका हुन् । समितिकी सभापति पूर्णकुमारी सुवेदीले यसअघि सांसद महेश बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको बताउनुभयो । अव नयाँ उपसमिति गठन गरी काम गर्नुपर्ने सुवेदीले बताउनुभयो ।
समितिको आन्तरिक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सांसदहरुले सिंचाईलाई प्राथमिकता दिएर छलफल अगाडी बढाउनुपर्ने बताएका थिए । त्यस्तै किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा पनि सांसदहरुले जोड दिएका थिए ।