काठमाडौं, २१ मंसिर । मानव बेचबिखन गर्ने सञ्जाल फेरी सक्रिय बनेको छ । उनीहरूले नेपाली महिला र पुरुष विदेशी भूमिमा लैजान थालेका छन् । विगतमा नेपाली महिला धेरैजसो भारतमा बेचिने गर्थे । सरकार तथा गैरसरकारी क्षेत्रबाट कडाइ भएपछि यसरी बेचिने क्रम घट्यो । त्यसपश्चात अवैध ओसारपसारमा संलग्नले रुट फेर्दै महिला लैजाने काम थालेको हो ।
गएको शुक्रबार इन्डोनेसियाबाट पाँच जनाको उद्धार गरिएको थियो । त्यही क्षेत्रबाट एक महिनाअघि एक महिलासहित छ जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले गर्यो । केही दिनअघि मात्र चीन पुगेकी एक महिला फर्काइयो । त्यस्तै तीन जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गर्यो ।
महिलालाई लैजानेले छोटो रुट प्रयोग गर्न थालेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाले भन्नुभयो । भारत, माल्दिभ्स, श्रीलंका हुँदै अफ्रिकी मुलुकमा नेपाली महिला लैजान थालेका छन् । पुरुष लैजाने तस्करले लामो रुट प्रयोग गर्दै युरोप, अमेरिका, अस्ट्रेलियामा सञ्जाल फैलाएको छ ।
पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रूपमा प्रयोग भइरहेको सूचना प्रहरीकहाँ आइपुगेको छ । बिहे गरेर लगेपछि कतिपयलाई घरमै यौनदासीका रूपमा राख्ने, बच्चा जन्मेपछि नेपाली महिलालाई अर्को व्यक्तिसँग चीनमै बिहे गराइदिने गरेको पाइएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।