काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद सागको औपचारिक रुपमा सुरु भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा औपचारिक उद्घाटन गरेसंगै साग सुरु भएको हो ।
बिगतमा दक्षिण एशियाली खेलकुद साफले परिचित प्रतियोगिता अहीले सागको नाममा परिचित छ । नेपालले साग क्षेत्रीय खेलकुद प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो । दक्षिण एसियाको ओलम्पिक मानिने यो प्रतियोगिताको १३ औं संस्करण हो ।
कार्यक्रमका हिसाबमा यो अहिलेसम्मकै ठूलो हो । २८ खेल समावेश यस संस्करणमा समान ३ सय २४ स्वर्ण र रजत तथा ४ सय ८७ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ ।
बंगलादेशमा २०१० मा भएको सागमा २३ खेल तथा २०१६ मा भएको प्रतियोगितामा २२ खेल समाबेश थिए । २००६ मा श्रीलंकामा भएको सागमा यसअघि सबैभन्दा बढी २ सय २५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । ७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालिको सागमा प्रतिस्पर्धा गर्देछन । यसको पहिलो संस्करण नेपालले सन् १९८४ मा आयोजना गरेको थियो ।
१५ वर्षपछि १९९९ मा नेपालले सागको आठौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसअघि दुवै पटक नेपालले आयोजना गर्दा सम्पूर्ण खेल काठमाडौं केन्द्रित थियो। यसपटक पोखरा रंगशालामा पनि बिभिन्न खेल हुँदैछन ।




