एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र

pul nirman

काठमाडौं, १२ मंसिर । कैलाली र कञ्चनपुरमा थेगिम कन्सट्रक्सन कम्पनी प्रालिले एक अर्बभन्दा बढीका ठेक्का ‘कब्जा’ मा राखेको छ। थेगिमले विभिन्न पूर्वाधारको ठेक्का लिएर तोकिएको समयमा काम नसकी अलपत्र पारेको हो।

ठेक्का १

थेगिमले ०७३ सालमा कञ्चनपुरको साविक जिल्ला सदरमुकाम बेलौरीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने २९ किलोमिटर सडक कालोपत्रेको ठेक्का पायो। दुई प्याकेजमध्ये पहिलो १४ किलोमिटरको ०७३ भदौ १७ र १५ किलोमिटरको ०७५ पुस ११ गते सम्झौता भयो।

आठ करोड तीन लाखको पहिलो प्याकेज (कलुवापुरदेखि १४ किलोमिटर) को म्याद ०७५ जेठ १५ मा सकिएको छ। १० करोड १७ लाखको अर्को प्याकेजको म्याद पनि ०७५ असार १५ गते सकिएको छ। पहिलो प्याकेजमा १२ प्रतिशत प्रगति भएको छ भने दोस्रोको कामै भएको छैन।

०७५ माघ १० गते प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उक्त सडक कालोपत्रेका लागि प्रदेश पूर्वाधार विकास मन्त्रालयले काम नगरेको भन्दै चालू आवमा थेगिमलाई १० लाख बजेट विनियोजन गरेको छ। संघीय सरकारको जिम्मेवारीमा रहेका बेला थेगिमले पहिलो ठेक्काबाट एक करोड दुई लाख र दोस्रो ठेक्काबाट २० लाख रकम बुझिसकेको पूर्वाधार विकास कार्यालय धनगढीले जनाएको छ।

संघीय सरकारले पनि काम लगाउन नसकेको थेगिमले ०७६ असारमा पूर्वाधार विकास कार्यालयलाई एक वर्षको म्याद थप्न निवेदन दिएको छ। ‘सरकारले अन्तिम पटक म्याद थप्न दिएको निर्देशनअनुसार हामीले पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गरेका छौं। थेगिमको रबैया हेर्दा काम होला जस्तो छैन’, पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर धीरेन्द्र भट्टले भने।

कलुवापुर–बेलौरी कञ्चनपुरको आधा जनसंख्यालाई जिल्ला सदरमुकामसँग जोड्ने सडक हो। थेगिमका सञ्चालक सुनीलकुमार थापालाई गत वर्ष स्थानीयले सडक कालोपत्रे सुरु नगरेको भन्दै गाउँबाट लखेटेका थिए। ठेक्का लिएको लामो समय भए पनि काम नगर्ने कम्पनीलाई प्रदेश सरकारले कारबाही गरेको छैन। उल्टै म्याद थपका लागि सिफारिस गरेको छ।

ठेक्का २

कैलालीको गेटामा सरकारको अर्बौं लगानीमा मेडिकल कलेज निर्माण भइरहेको छ। कलेज भवन र तीन सय शड्ढयाको अस्पताल भवन बन्दै छ। त्यसमा प्रोफेसर निवासका ५ वटा भवन, प्रशासनिक कर्मचारीका २ वटा आवास र नर्सिङ कर्मचारी आवास भवन गरी चार–चारतले ८ वटा भवनको ५३ करोडको ठेक्का थेगिमले लिएको छ।

‘३० महिना निर्माण अवधिमा २१ महिना बितेको छ। प्रगति २० प्रतिशत मात्रै भएको छ। निर्माण अवधि सकिन ९ महिना बाँकी छ। साइडमा न कामदार छन्, न उपकरण, हैरान बनायो थेगिमले’, मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउदले भने।

उनले मेडिकल कलेजको परामर्शदाता कम्पनीको सिफारिसमा ठेक्का रद्द गर्ने वा उसको बैंक ग्यारेन्टी तान्ने भन्ने टुंगो छिट्टै लगाइने बताए। मेडिकल कलेजको निर्माणमा बिल्डिङ डेभलपमेन्ट अथुरिटी (बीडीए) ले परामर्शदाताको जिम्मेवारी पाएको छ। ‘साइडका काम बन्द छन्। ८० प्रतिशत काम बाँकी छ। अब के गर्ने भनेर मेडिकल पूर्वाधार निर्माण विकास समितिसँग निर्णय लिइनेछ’, परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर सुनील आचार्यले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);