काठमाडौं, २९ कात्तिक । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोली पराजित भएको छ ।
सांघाईमा शुक्रबार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
त्यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । नेपालकी राजमती ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९/१९ रन जोडे भने डली भट्टले १६ रन बनाईन् ।
यो सँगै प्रतियोगितामा नेपालले चार खेलमा दुई जित र दुई हार व्यहोरेको छ । यस अघि प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो ।
दोस्रो खेलमा भने नेपालले चीनलाई ८ विकेटले हराएको थियो । यस्तै बिहिबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो ।