काठमाडौं, २१ कात्तिक । विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको नेपाल र कुबेतबीचको खेल दशरथ रंगाशालामा नहुने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रंगशाला तयार हुन नसेकेको भन्दै एसियाली फुटबल परिषद एएफसीको निर्देशन अनुसार सो खेल नेपालमा सञ्चालन हुन नसक्ने अखिल नेपाल फुटबल संघ एन्फाले पुष्टि गरेको छ ।
एएफसीको प्रतियोगिता समितिका प्रतिनिध देङ सि लोङले विश्वकप छनौटको खेल सञ्चालनका लागि निरीक्षण गरेर दशरथ रंगशाला योग्य नरहेको प्रतिवेदन तयार गरेका थिए । एन्फाले समयमा नै रंगशाला पुनःनिर्माणहुन नसकेकोमा क्षमा माग्दै उक्त छनौट खेल भुटानको चाङलिमिथाङ रंगशालामा सञ्चालन गर्नका लागि फिफा र एएफसीसँग प्रस्ताव गरिएको जनाएको छ ।
नेपाल र कुबेतबीचको खेल आगामी मंसिर ३ गते दशरथ रंगशालामा हुने तय भएको थियो । विश्वकप छनोट अन्तर्गत पहिलो चरणमा कुबेतको मैदानमा नेपाल ७–०गोल अन्तरले पराजित भएको थियो ।





