काठमाडौं, २० कात्तिक । राष्ट्रिय खेलकुद परिषद्ले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटन अघि नै भलिबलका खेलहरु हुनेछन् ।
तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन् । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन् । त्यस्तै उद्घाटन अगाडि प्याराग्लाइडिङ र उसुका खेल पनि हुने छन् ।
उसुको खेल मंसिर १३ बाट १९ सम्म ललितपुरको लगनखेलस्थित आर्मी शारिरिक तथा फिटनेश सेन्टरमा हुनेछ भने प्याराग्लाईडिङका खेल मंसिर १४ बाट २३ गतेसम्म पोखरामा हुनेछन् । तालिका अनुसार उद्घाटनको दिन मंसिर १५ गते ब्याडमिन्टन, पुरुष फुटबल, कराँते, खोखो, टेनिसका खेलहरु सुरु हुनेछ ।




