प्रेस रिभ्यू : मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने प्रधानमन्त्रीको ब्रिफिङदेखि सेनाको ३४६ करोडको जहाज खरिदमा अनियममितता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

प्रेस रिभ्यू : मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने प्रधानमन्त्रीको ब्रिफिङदेखि सेनाको ३४६ करोडको जहाज खरिदमा अनियममितता

pm oli

काठमाडौं, १७ कात्तिक । कार्तिक १७ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आफ्नो स्वास्थ्य स्थिति बारे गरेको ब्रिफिङलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

शनिबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपणमध्ये एक विकल्पमा जानुपर्ने र त्यसका लागि पछिल्लो स्वास्थ जाँच रिपोर्ट कुरिरहेको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै कान्तिपुर दैनिकले लेखेको छ, ‘तर म एकदमै सिकिस्त छैन ।’ नियमित डायलाइसिस गर्नुपरे साताको तीन चोटी गर्नुपर्ने ओलीले जानकारी दिएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीले बैठकमा प्रचारमा आएजस्तो सिकिस्त बिरामी नभएको स्पष्ट पारेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार लेखेको छ । त्यस्तै, नागरिक दैनिक र गोरखापत्र दैनिकमा प्रधानमन्त्रीको मिर्गौलामा समस्या आएको बारेमा समाचार प्रकाशित छ ।

नागरिक दैनिकले आफ्नो फ्रन्ट पेजमा ‘नेताहरुकै आडमा जग्गा कब्जा’ भएको समाचार गरेको छ । सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व बोकेको स्थानीय सरकार तथा सम्बन्धित सरकारी निकायको उदासिनताका कारण रुपन्देहीमा सार्वजनिक तथा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र हडप्ने क्रम बढेको समाचारमा उल्लेख छ । त्यस्तै, नेपाली काँग्रेसका शीर्ष नेताहरुको ध्यान १४ औँ महाधिवेशनमा केन्द्रीत हुँदा पार्टीका सबै अंग निष्क्रिय बन्न पुगेको समाचार पनि प्रकाशित गरेको छ । नेताहरुले एकले अर्कोलाई कमजोर साबित गर्न सक्रिय हुँदा पार्टी संरचनाहरु कमजोर बन्न पुगेको समाचारमा भनिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा सरकारले दिएको धानको बिउ नक्कली पर्दा ९ जिल्लामा १५ करोडको क्षति भएको समाचार प्रकाशित गरेको छ । छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउमा बाली नलागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौँ किसान ठगिएका हुन् । यता, भैरवी गाउँपालिकाले छोरी जन्माए बैंक खाता खोलेर पैसा जम्मा गरिने दिने समाचार पत्रिकाले प्रकाशित गरेको छ । गाउँपालिकाले हरेक वर्ष हजार रुपैयाँको दरले २० वर्षसम्म पैसा जम्मा गरिदिने समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ बर्खास्तीको प्रक्रियामा रहेको समाचार प्रकाशित गरेको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै अजयराज सुमार्गीलाई साथ दिएको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सघाएको आरोप श्रेष्ठमा लागेको समाचारमा बताइएको छ । यही आरोपहरुबारे उनीमाथि छानविन गर्ने भएको हो ।

नयाँ पत्रिका दैनिकमा सेनाले विनाप्रतिस्पर्धा ३४६ करोडको जहाज खरिद गरेको समाचार प्रकाशित गरेको छ । सेना आफैले रोजेका दुई कम्पनीबाट दररेट मागेकोमा एउटा कम्पनीले मात्र दररेट दिएको र सोही कम्पनीसँग सेनाले सम्झौताले गरेको समाचारमा उल्लेख छ । सेनाको यो शैलीले सार्वजनिक खरिद ऐन, नियमावली र आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण नीति र सिद्धान्तको खिल्ली उडाएको समाचारमा बताइएको छ । जहाजको खरिद प्रक्रिया तत्कालिन प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले स्वीकृत गरी अगाडि बढाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);